
पर्सा १३ जेठ – बिरगंजको मुटु मानिने घण्टाघरमा दिनदहाडै एक वृद्धको झोलाबाट १ लाख ४० हजार रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएपछि प्रहरीले जनताको सुरक्षामा चासो नदिएको स्पष्ट देखिएको छ।
शखुवाप्रशौनी गाउँपालिका–३, कटैया दुर्वानाका जोगिन्दर राउत कुर्मी सहकारी संस्थामा लोनको रकम बुझाउन भन्दै सोमबार दिउँसो २ बजे घण्टाघर नजिक अटोबाट ओर्लिए। पशुपति मार्केटतर्फ जाँदै गर्दा उनले प्लास्टिकको झोलामा बोकेको नगद रकम चोरले सफा तरिकाले चोरी गरी फरार भएको पीडित राउतले बताएका छन्।
उक्त क्षेत्र अत्यधिक भीडभाड हुने मात्र नभई प्रहरी बिट पनि नजिकै रहेको छ। सधैंजसो प्रहरीको बाक्लो उपस्थिति रहेको ठाउँमा यसरी खुल्ला रूपमा चोरी हुनुले सुरक्षातन्त्रको लापरवाही उजागर गरेको छ।
स्थानीयवासीहरुका अनुसार, प्रहरीको नाम मात्रको उपस्थिति छ, सक्रियता भने शून्य छ। दिनदहाडै यस्तो आपराधिक घटनाले प्रहरी प्रशासनको कमजोरी र जनताप्रतिको गैरजिम्मेवार व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरुले चोर पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै सुरक्षातन्त्रलाई तत्काल चुस्त-दुरुस्त बनाउन आग्रह गरेका छन्।