बिरगंज, पर्सा १५ जेठ ।
पर्सा जिल्लाको अलौ नाका हुँदै भारतको आन्द्राप्रदेशबाट विषाक्त र मरेको माछा नेपाल भित्रिएको खुलासा भएको छ। भारतीय बजार रक्सौलबाट खरिद गरिएका मरेका र विषादी प्रयोग गरिएका माछाहरु सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा अलौ नाका पार गराई खुलमखुला रूपमा बिरगंज लगायतका सहरहरुमा बिक्री वितरण भइरहेको छ।
स्थानीय स्रोतका अनुसार, माछा तस्करहरूले मरेका माछालाई रङ्ग र गन्ध हटाउने विषाक्त रसायन प्रयोग गरी ताजा देखिने बनाइरहेका छन्। यस्ता माछाहरु आम नागरिकको थालमा पुग्दा स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरूको चेतावनी छ।
स्वास्थ्य विज्ञहरू भन्छन्— “मरेको माछामा बोटुलिज्म, साल्मोनेला र अन्य विषाणु सक्रिय हुन सक्ने भएकाले यस्तो माछा सेवन गर्दा फुड प्वाइजनिङ, पाचन समस्या, लिभर ड्यामेज र दीर्घकालीन रूपमा क्यान्सरसम्मको जोखिम हुन सक्छ।”
अर्कोतर्फ, पर्सा क्वारेन्टाइन कार्यालयले समेत यस्तो खतरनाक कारोबारप्रति चासो नदेखाएको भन्दै सर्वसाधारण र नागरिक समाजले आपत्ति जनाएका छन्। भारतबाट लुकीछिपी तस्करी गरिएका माछा मात्र होइन, कुखुराको चल्ला समेत ठूलो मात्रामा नेपाल भित्रिरहेको पाइएको छ। यस्ता वस्तुहरू आयात गर्दा न त परीक्षण गरिन्छ, न त कानुनी प्रक्रिया पूरा गरिन्छ।
प्रहरी र सुरक्षा निकायकै संरक्षणमा चलिरहेको यस्तो आपराधिक गतिविधिबाट स्वास्थ्य मात्र होइन, वैदेशिक बजारमा नेपाली माछा उत्पादक तथा व्यापारीहरूको व्यवसाय समेत धरापमा परेको छ।
बिरगंजका एक स्थानीय माछा व्यवसायी भन्छन्, “हामीले स्वास्थ्य मापदण्ड अनुसार माछा उत्पादन गर्दा लागत बढ्छ, तर सस्तोमा भारतबाट आयात भएको विषाक्त माछा बजारमा खुलेआम बेच्दा हाम्रो व्यवसाय नै संकटमा परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय