वीरगञ्ज २२ जेठ ।
सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र सवारी सुरक्षामा आम नागरिकको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित वीरगञ्जमा सात दिने ट्राफिक सप्ताह २०८२ औपचारिक रूपमा सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आजदेखि सञ्चालनमा ल्याइएको ट्राफिक सप्ताहको शुभारम्भ प्रभातफेरीमार्फत गरिएको हो। प्रभातफेरीमा विद्यालयका विद्यार्थी, ट्राफिक प्रहरी, नगर प्रहरी, सामाजिक अभियन्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभयो। उहाँले उद्घाटन समारोहमा बोल्दै ट्राफिक नियमको महत्त्व र यसको प्रभावकारी कार्यान्वयनमार्फत सडक दुर्घटनामा आउने गिरावटबारे जानकारी दिनुभयो।
उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रा, सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल, नगर प्रहरी प्रमुख हरि भुसाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताह अन्तर्गत वीरगञ्जको मुख्य सडक, बजार क्षेत्र, विद्यालय, कार्यालय तथा चोकहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। जसमा ट्राफिक नियमको जानकारी, सडक सुरक्षाका उपाय, दुर्घटनाबाट बच्ने तरिका र जिम्मेवार सवारी सञ्चालनसम्बन्धी प्रशिक्षण, पोस्टर अभियान, सडक नाटक तथा सचेतना र्‍यालीहरू समावेश गरिनेछन्।
सडक दुर्घटना पछिल्ला वर्षहरूमा बढ्दो क्रममा रहेको सन्दर्भमा यस्ता जनमुखी कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ। यस अभियानले चालकहरू मात्र नभइ यात्रु र पैदल यात्रुहरूलाई समेत सुरक्षित यात्राको महत्त्व बुझाउने लक्ष्य राखिएको आयोजकले बताएका छन्।
सातै दिन चल्ने कार्यक्रममार्फत ट्राफिक नियम पालना, अनुशासित सवारी संस्कृति र सुरक्षित सडक जीवनको सन्देश फैलाउने उद्देश्य लिइएको छ। वीरगञ्जवासीलाई ट्राफिक नियम पालनामा प्रेरित गर्नका लागि यो सप्ताह एउटा सकारात्मक प्रयास हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय