
पर्सा, बहुदरमाई २२ जेठ — जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका–६ गमहरियास्थित एक गोदाममा छापा मार्दै भारतबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ।
प्रहरीका अनुसार, गोप्य सूचनाका आधारमा गरिएको छापामारीमा आठ लाख रुपैयाँ बराबरको ‘सटिङ–सुटिङ’ र थानको विभिन्न प्रकारका भारतीय कपडा फेला पारिएको हो। कपडाहरू अवैध रूपमा सीमा पार गरी नेपाल भित्र्याइएकाले गोदाममा लुकाइछिपाई राखिएको अवस्थामा बरामद गरिएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी किशोर लम्सालका अनुसार, कपडाहरू भन्सार छलिएको अवस्थामा भेटिएकाले त्यससम्बन्धी आवश्यक अनुसन्धान सुरु गरिएको छ। बरामद गरिएका वस्तुहरूलाई पर्सा जिल्ला प्रहरी कार्यालय ल्याइएको छ र अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिरगंज भन्सार कार्यालयमा बुझाइने डिएसपी लम्सालले जानकारी दिनुभयो।
उक्त कारवाहीलाई सीमा क्षेत्रमा भइरहेको अवैध कारोबार नियन्त्रणमा प्रहरीले चलाएको विशेष अभियानको सफल उदाहरणका रूपमा लिइएको छ। पर्सा प्रहरीले अवैध भन्सार छलिका सामानहरूको ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै आएको छ।