बिरगंज ३१ असार ।
पर्सा जिल्लाको भारतसँग सिमाना जोडिएको अलौ नाका हाल तस्करीको प्रमुख रूटमा परिणत भएको छ। आइसिपीको पश्चिम्  पर्खाल सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा दैनिक लाखौँ रुपैयाँ बराबरको सामानको अवैध ओसारपसार भइरहेको स्थानीयले गुनासो गरेका छन्।
भारतको रक्सौल नाका हुँदै आउने काजु, किसमिस, कोल्ड ड्रिंक्स (फेन्टा, कोक), बटर, आलु, प्याज, तेल, चिनी, मैदा, आटा, कपडा, इलेक्ट्रोनिक पार्टपुर्जा, हार्डवेयरका सामान लगायतका उपभोग्य वस्तुहरू साइकल, मोटरसाइकल, र गुपचुप सवारी साधनहरू प्रयोग गरी अलौ नाकाबाट भित्र्याउने क्रम बढ्दो छ।
अलौनाकाबाट तस्करी गर्ने राजेश, मुखिया, हरिन्दर, र सन्दिप नामक गिरोहले चाइनिज किसमिस तथा नेपाली पेस्ट भारततर्फ तस्करी गरिरहेको पाइएको छ भने बैजु नामक व्यापारीले रक्सौलबाट किराना सामग्री, किसमिस, मरिच लगायतका वस्तुहरू अबैध रूपमा नेपाल भित्र्याइरहेको स्रोतको भनाइ छ। ओमप्रकाश नामक अर्को व्यापारीले अमुल ब्राण्डको बटर नियमित रूपमा तस्करी गर्दै आएको प्रमाणहरू देखिएको छ।
त्यस्तै, रञ्जित र शिव नाम गरेका व्यक्तिहरूले किराना तथा खाद्यान्नका भारी परिमाणमा सामग्री ओसारपसार गरिरहेका छन्। यस कार्यमा उनीहरूले स्थानीय सुरक्षा संयन्त्रको समर्थन पाइरहेको स्थानीयवासीको आरोप छ।
स्रोतका अनुसार, बिहान ५ बजेदेखि राति १२ बजेसम्म अलौ नाका पूर्ण रूपमा तस्करहरूको नियन्त्रणमा हुने गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीबीचको गुप्त समझदारीका कारण तस्करी अवरुद्ध हुने सम्भावना निकै न्यून देखिएको छ।
स्थानीय सर्वसाधारणहरू भन्छन्, “अलौ नाका अब तस्करहरूको लागि खुला सिमाना भएको छ। प्रहरी प्रशासन नै मौन भएर हेरेको छ।”
यस्ता घटनाले राज्यको राजस्व प्रणालीमा गम्भीर असर पार्नुका साथै कानुनको शासनमा प्रश्न चिन्ह खडा गरिरहेको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायप्रति जनतामा गहिरो असन्तुष्टि व्यक्त भइरहेको छ र सरकारबाट तत्काल छानबिन तथा नियन्त्रणात्मक कदमहरू चाल्न माग उठिरहेको छ। यदि यथास्थिति यथावत् रह्यो भने, पर्सा जिल्ला तस्करीको अखडा बन्ने खतरा बढ्दो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय