
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवल्दार राजेश यादव र प्रहरी सहायक हवल्दार धर्मेन्द्र यादवले संगठनको नीति र अनुशासनविपरीत विगत ६ वर्षदेखि घुमुवा प्रहरीको रूपमा कार्य गर्दै तस्करी, धम्की, असुली र आन्तरिक अराजकता फैलाइरहेको आरोप लागेको छ ।
नेपाल प्रहरी संगठनभित्र ‘घुमुवा प्रहरी’ विवादास्पद संरचना मानिन्छ । तस्करहरूसँगको मिलेमतो, सिनियरलाई अवज्ञा, र संगठनको नाममा डर देखाउँदै आर्थिक लाभ उठाउने यस्ता व्यक्तिहरूलाई अघिल्लो नेतृत्वले हटाउने प्रयास गरे पनि हाल पुनः उनीहरू सक्रिय बन्दै गएका छन् ।
पहिले तानिए, फेरि पहुँचले फर्किए
मधेश प्रदेश प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल कार्यरत रहँदा यी दुबै घुमुवा प्रहरीलाई गणमा तानिएको थियो । तर, डिआईजी लालमणि आचार्यको कार्यकालमा उनीहरूलाई पुनः महोत्तरीमै घुमुवा प्रहरीको रूपमा खटाइएको स्रोतले जनाएको छ । हाल भने मधेश प्रदेशका प्रहरी प्रमुखमा डिआईजी उमा चतुर्वेदी रहेकी छन् ।
डिआईजी र एसपीको नाममा असुली
नेपालफेससँगको कुराकानीमा स्थानीय व्यापारीहरूले डिआईजी उमा चतुर्वेदी र महोत्तरीका एसपी हरेम्ब शर्माको नाम लिई घुमुवा प्रहरीहरू डर, त्रास र धम्की देखाउँदै व्यापारिक क्षेत्रमा असुली गरिरहेको गुनासो गरेका छन् । ‘हामी हाकिमकै मान्छे हौं’ भन्दै उनीहरूले जबर्जस्ती रकम असुल गर्ने गरेको व्यापारीहरूको भनाइ छ ।
तस्करी, संरक्षण र मौनता
सीमावर्ती चौकीहरू – सम्सी, इटहरवाकटी, पोखरभिन्डा, मटियानी, भिठामोड आदि क्षेत्रबाट रक्सी, चाइनिज सामग्री, स्क्र्याप, फेयर एन्ड लभ्ली लगायतका सामान भारततर्फ तस्करी भइरहेको छ भने भारतबाट रजनीगन्धा, कपडा, किराना, दूध पाउडर, माछा, कुखुराका चल्ला जस्ता सामग्री नेपाल भित्रिन्छन् । चीनमा तयार गरिएको नक्कली फेयर एण्ड लभ्ली नेपाल हुँदै भारत तस्करी हुने गरेको छ ।
नेपालफेसलाई प्राप्त भिडियोमा दिउँसोको समयमा नै मोटरसाइकलमा तस्करी भइरहेको देखिन्छ । यसबारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शैलेन्द्र भट्टले ‘जाँचबुझ भइरहेको छ’ मात्र प्रतिक्रिया दिएका छन् ।
प्रहरी प्रधान कार्यालय पनि मौन
स्थानीयहरूका अनुसार, दुबै घुमुवा प्रहरीविरुद्ध प्रहरी प्रधान कार्यालयसम्म उजुरी परेपनि अहिलेसम्म कुनै चासो नदिइएको भन्दै उनीहरूको मनोबल झनै बढेको छ । ‘उजुरी दिए पनि सुनुवाइ हुँदैन, बरु उनीहरू झन् उन्मुक्त हुँदै गएका छन्’ एक स्थानिय व्यापारीले नेपालफेसलाई बताए ।
एसपीको प्रयास, ‘सोर्सफोर्स’को अवरोध
एसपी हेरम्ब शर्मा महोत्तरीमा लामो समयदेखि स्थायी रूपमा रहेका प्रहरीको स्थानान्तरण गर्न चाहन्थे । तर, संगठनभित्रकै ‘सोर्सफोर्स’ र राजनीतिक पहुँचका कारण उनको प्रयास निरन्तर अवरुद्ध हुँदै आएको प्रहरी प्रशासन शाखाका एक कर्मचारीले जनाए ।
सिनियरप्रति अवज्ञा, संगठनप्रति अपमान
चौकी इन्चार्जहरूसँगको संवादमा खुलेको छ कि राजेश यादव र धर्मेन्द्र यादवले ‘हामी हाकिमका मान्छे हौैं’ भन्दै चौकीमा आएर सिनियर प्रहरीप्रति अभद्र व्यवहार गर्ने, जयनेपाल नगर्ने र उल्टै हाकिमको कान भर्ने गतिविधि गर्दै आएका छन् ।
एका सिनियर प्रहरी अधिकृतले भने–‘यी दुबै तस्करको स्कारपियो चढ्छन्, होटलहरूमा बस्छन्, हाईवेमा जुवा खेलाउनेहरूसँग मिल्छन्, तर सम्बन्धित निकाय मौन छ ।’
घुमुवा प्रहरीको आडमा महोत्तरीमा फैलिएको तस्करी, धम्की, असुली र संगठनविरोधी व्यवहारप्रति प्रहरी संगठनकै उच्च तहको मौनता झनै गम्भीर चिन्ताको विषय बनेको छ । सुधारको पहल थालिएको प्रहरी संगठनभित्र फेरि सोर्स र पहुँचको जीत देखिनु प्रहरीप्रतिको जनविश्वास कमजोर बनाउने लक्षण हो । साभार – नेपाल फेस