धनुषा, ३१ असार ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक सागर शम्सेर राणालाई असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको छ। अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा खटिनु भएका सागर शम्सेर राणाले अपहरण, लुटपाट, चोरी तथा फरार अभियुक्तको नियन्त्रण लगायतका विभिन्न जटिल मुद्दाहरुमा सफल अनुसन्धान गरी अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान दिएका कारण उनलाई यो सम्मान दिइएको हो।
बरिस्ठ सइ राणाले ४ वर्षअघि हराएका रामबिलास यादव नामका व्यक्तिको केसमा उल्लेखनीय अनुसन्धान गर्दै आरोपीलाई पत्ता लगाई नियन्त्रणमा लिन सफल भएका थिए। साथै, २०७२ सालदेखि फरार रहँदै आएका अभियुक्त बासुदेव साहलाई समेत पक्राउ गर्न सघाएका थिए। फरार अभियुक्तको खोजतलास, कर्तव्य निष्ठा र जनशक्तिको कुशल परिचालनमा देखाएको दक्षता उनको विशेषता मानिएको छ।
धनुषा प्रहरीले जानकारी दिएअनुसार, अपहरण, चोरी, फरार अभियुक्त नियन्त्रण लगायतका १० महत्त्वपूर्ण मुद्दामा सक्रिय संलग्नता देखाएका बरिस्ठ सइ राणाले आफ्नो जिम्मेवारीमा खरो उत्रिएका छन्। यही कारणले उनलाई असार महिनाको “Police of the Month” घोषणा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले बरिस्ठ सइ सागर राणालाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्यका लागि प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय