वीरगञ्ज, २८ कात्तिक ।
विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पहलमा तथा रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहकार्यमा वीरगञ्जको घडियारवा पोखरीमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरिएको छ।
बिहान ६:०० देखि ८:०० बजेसम्म सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाहरूलाई ब्लड सुगर परीक्षण, BMI चेकअप, रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। कुल १४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए, जसमा १२४ पुरुष र १७ महिला सहभागी भएका थिए। स्थानीय बासिन्दाको उत्साहजनक सहभागिताले समुदायमा मधुमेहसम्बन्धी जनचेतनाको आवश्यकता अझै बढिरहेको संकेत दिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले मधुमेह विश्वभर तीव्र गतिमा बढ्दै गएको जनस्वास्थ्य चुनौती भएको उल्लेख गर्दै यसको रोकथाम, प्रारम्भिक पहिचान तथा नियमित निगरानीका लागि निरन्तर जनचेतना अत्यावश्यक रहेको बताएका थिए। साथै, समुदायमुखी स्वास्थ्य सेवा प्रवर्द्धनमा नेशनल मेडिकल कलेजले पुर्याउँदै आएको निरन्तर योगदानको प्रशंसा गरिएको थियो।
कार्यक्रममा नेशनल मेडिकल कलेजतर्फबाट डा. अनिल साह (कन्सल्टेन्ट), इञ्जिनियर प्रदीप चौधरी (मुख्य सूचना अधिकारी), जितेश चन्द्र दास (मार्केटिङ प्रबन्धक), ब्रज किशोर चौधरी (ओपरेशन्स तथा क्वालिटी प्रबन्धक), बिश्वनाथ कन्थ (वरिष्ठ प्रशासन अधिकृत) तथा डा. प्रसान्त भण्डारी (प्रेसिडेन्ट–स्टुडेन्ट क्लब) उपस्थित रहेका थिए।

त्यस्तै, Rotaract Club of United Birgunj तर्फबाट रोजनी भट्टराई (अध्यक्ष), शुजल ठाकुर (सचिव) तथा सन्दीप राज ओझा (कार्यक्रम संयोजक) सक्रिय रूपमा सहभागी भएका थिए। स्थानीय समुदाय, विद्यार्थी, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा रोटार्याक्ट सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई सफल र प्रभावकारी बनाएको आयोजकले जनाएको छ।








