वीरगञ्ज, १५ मंसिर ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ अन्तर्गत बहुवरी ड्राइपोर्ट चोक बाट मानसिक अवस्था कमजोर भएका एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज दिउँसो ३:१५ बजे उद्धार गरेको छ। करिब ३५ वर्ष उमेरका उक्त पुरुषले आफ्नो नाम–थर खुलाउन नसक्ने अवस्था भएको आश्रमले जनाएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव तथा प्रहरी चौकी श्रीसियाबाट खटिएका सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
आश्रममा लगिएकोपछि उद्धार गरिएका पुरुषको नुहाइ–धुहाइ, सरसफाइ गराई थप स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको आश्रमले बताएको छ। उहाँको उपचार तथा स्वास्थ्य अवस्थाको निगरानी डाक्टर भरत गोई द्वारा गरिनेछ।
मानव सेवा र जनकल्याणमा निरन्तर सक्रिय आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र परेकालाई सुरक्षित संरक्षण र उपचारका लागि निरन्तर काम गर्दै आएको छ।








