वीरगञ्ज। हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। बिहानैदेखि विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ। भक्तजनहरू व्रत बसी भगवान शिवको पूजाअर्चना तथा जलाभिषेकमा सहभागी भइरहेका छन्।
राजधानीस्थित पशुपतिनाथ मन्दिर मा विशेष पूजा, रुद्राभिषेक, भजन–कीर्तन तथा दीप प्रज्वलन कार्यक्रम सञ्चालन भइरहेको छ। त्यस्तै, देशका अन्य प्रमुख शिवालयहरूमा पनि श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ।
यसैबीच वीरगञ्जमा रहेका अलखियामठ मन्दिर र वीरगञ्ज महानगरपालिका–पिपरास्थित पिपरा पशुपतिनाथ मन्दिर मा पनि बिहानैदेखि भक्तजनहरूको घुईँचो लागेको छ। दुवै मन्दिरमा विशेष पूजा, आरती तथा भजन–कीर्तन कार्यक्रम आयोजना गरिएको छ। लामो लाइनमा बसेर श्रद्धालुहरूले शान्तिपूर्वक दर्शन गरिरहेका छन्।
धार्मिक विश्वासअनुसार आजको दिन व्रत बसी भगवान शिवको आराधना गरे मनोकामना पूरा हुने मान्यता छ। शिवरात्रिलाई भगवान शिव र पार्वतीको विवाह उत्सवका रूपमा समेत मनाउने परम्परा रहेको छ। यस अवसरमा शिवलिङ्गमा बेलपत्र, दूध, धतुरो र पवित्र जल अर्पण गर्ने चलन छ।
भीड व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गरिएको छ भने स्वयंसेवकहरूले दर्शनार्थीलाई सहजीकरण गरिरहेका छन्।
महाशिवरात्रि पर्वले धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै आएको छ।








