वीरगञ्ज, ५ फागुन । नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनरवामा मङ्गलवार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्दै आफूलगायत नेकपा (एमाले) का सम्पूर्ण उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे । यसैगरी, उनले इनरवा क्षेत्रमा स्थापना गरिएको आफ्नो सम्पर्क कार्यालयको पनि औपचारिक उद्घाटन गरेका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका यादवले अबको आफ्नो मुख्य लडाइँ सङ्घीयता पूर्ण कार्यान्वयनका लागि हुने बताए । उनले भने, “देशमा सङ्घीयता स्थापना भएको झन्डै १० वर्ष पुगिसकेको छ, तर अझै पनि यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन । प्रदेश र स्थानीय तहहरूले आफ्ना पूर्व अधिकारहरू प्राप्त गर्न सकेका छैनन् । सङ्घीयताको मर्मअनुसार कर्मचारीहरूले काम गर्न छाडेका छन् । अब यो मुद्दालाई प्राथमिकतामा राखेर लड्ने छु ।”
यादवले पछिल्लो समय देशमा विदेशी शक्तिहरूको प्रभाव बढ्दै गएको आरोप लगाउँदै नेपाललाई प्रयोगशाला बनाइएको दाबी गरे । उनले सङ्घीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न केपी शर्मा ओली नेतृत्वको सरकार आवश्यक रहेको जोड दिए ।
उनले नयाँ भनिएका दलहरूका उम्मेदवारहरूको पृष्ठभूमि जाँच्न मतदातालाई आग्रह गरे । “काम गर्ने उम्मेदवारलाई चिन्नुहोस् र मत दिनुहोस्,” उनले भने । यादवले विगतमा कोरोना महामारी, खानेपानी सङ्कट र हैजा जस्ता सङ्कटका बेला आफूले ज्यान जोखिममा राखेर जनताको साथमा उभिएको स्मरण गराए । उनले अन्य दलका उम्मेदवारहरूले समाजमा कुनै उल्लेखनीय योगदान नदिएको आरोप लगाउँदै आफूलाई काम गर्न सक्ने, जनताको पक्षमा संसद्मा आवाज उठाउन सक्ने उम्मेदवारको रूपमा प्रस्तुत गरे ।
अन्त्यमा उनले मतदातालाई सूर्य चिन्हमा मतदान गरेर आफूलाई जिताउन आग्रह गरे । कार्यक्रममा स्थानीय कार्यकर्ता तथा मतदाताको उल्लेख्य सहभागिता रहेको थियो ।








