पर्सा ।

वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा आइतबार साँझ मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवाद उग्र रूप लिँदा झडप भएको छ।
प्राप्त जानकारीअनुसार मोटरसाइकलमा आएका एक युवकले चारपाङ्ग्रे सवारीसाधन नजिकै आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। सो क्रममा चारपाङ्ग्रेमा बसेका केही व्यक्तिले उक्त स्थानमा पार्किङ नगर्न आग्रह गर्दा युवकले अटेरी गरेपछि सामान्य भनाभन सुरु भएको थियो। उक्त भनाभन केहीबेरमै कुटपिटमा परिणत भएको बताइएको छ।
घटनापछि केही सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा यसलाई दुई समुदायबीचको झडपका रूपमा प्रचार गर्ने प्रयास गरिएको भए पनि प्रारम्भिक अनुसन्धानमा विवाद मोटरसाइकल पार्किङकै विषयबाट सुरु भएको खुलेको छ।
विवाद उग्र बन्दै गएपछि तत्काल प्रहरी प्रशासन घटनास्थलमा पुगेको थियो। प्रहरीले लाठीचार्ज गर्दै अवस्था नियन्त्रणमा लिएको जनाएको छ।
झडपका क्रममा ललन साह, अमर महत्तो र धीरज साह घाइते भएका थिए। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको नारायणी अस्पताल मा उपचारपछि अवस्था सामान्य रहेको र उपचारपश्चात घर फर्किसकेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। साथै श्रीपुर क्षेत्रमा हाल अवस्था सामान्य रहेको र कुनै पनि अफवाहमा नलाग्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय