१२ फागुन, काठमाडौं । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट रङ्गहरुको पर्व होलीको उत्सव औपचारिक रुपमा सुरु भएको छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ गते र १९ गते परेको छ । फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
बसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएको अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो ।
चीर ठड्याएको दृष्य हेर्न बसन्तपुर दरबार क्षेत्रमा स्थानीय भेला भएका थिए । उनीहरुले एकअर्कालाई अबिर दलेर खुसीयाली मनाएका छन् ।साभार—अनलाईन खबर








