वीरगञ्ज, १४ फागुन ।

पर्सा मदिरा व्यवसायी संघले जिल्ला प्रशासनले मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिति २०८२ साल फाल्गुण १५ गतेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय पर्साले मदिरा व्यवसाय बन्द गर्ने निर्णय गरेको सूचनाले सम्पूर्ण व्यवसायीहरू चिन्तित र मर्माहत भएको उल्लेख गरेको हो।
संघका अनुसार हालको अवस्थामा मदिरा व्यवसायीहरूको आर्थिक अवस्था पहिले नै कमजोर रहेको र देशको समग्र आर्थिक परिस्थितिले व्यापार थप प्रभावित भएको छ। मदिरा व्यवसाय राज्यलाई राजस्व बुझाउने प्रमुख क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै संघले वर्षौंदेखि व्यवसायीहरूले राज्यको राजस्वमा महत्वपूर्ण योगदान गर्दै आएको जनाएको छ। तर अचानक गरिएको यस्तो निर्णयले व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने खतरा बढेको संघको भनाइ छ।
विशेषगरी होली पर्वलाई लक्षित गरेर व्यवसायीहरूले ठूलो मात्रामा व्यापार हुने अपेक्षा राख्ने गर्दछन्। धेरै व्यवसायीहरूले बैंक, सहकारी तथा अन्य स्रोतबाट ऋण तथा सापटी लिएर मदिरा खरिद गरी व्यापारको तयारी गरिसकेको अवस्थामा पर्व आउनु भन्दा करिब एक हप्ता अगाडि पसल बन्द गर्ने निर्णय अन्यायपूर्ण भएको संघले जनाएको छ।
संघले व्यवसाय सञ्चालन गर्न नपाए व्यवसायीहरूले लिएको ऋण, बैंकको किस्ता, घरपरिवारको खर्च तथा राज्यलाई तिर्नुपर्ने कर कसरी व्यवस्थापन गर्ने भन्ने गम्भीर प्रश्न उठाएको छ। साथै व्यवसायीहरूको लगानी, समस्या र वास्तविक अवस्थालाई मध्यनजर गर्दै निर्णय पुनर्विचार गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरिएको छ।
संघले अन्त्यमा सम्पूर्ण व्यवसायीहरूलाई संयमित, एकताबद्ध र जिम्मेवार ढंगले आफ्नो हक–अधिकारको संरक्षणका लागि उभिन समेत आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय