वीरगञ्ज, १५ फागुन — जिल्ला प्रशासन कार्यालय पर्साले अन्य जिल्लाभन्दा करिब सात दिन अगाडि नै मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णय लागू गरेपछि पर्सा जिल्लाका मदिरा व्यवसायीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।
पर्सा मदिरा व्यवसायी संघले जारी गरेको ध्यानाकर्षण पत्रमा देशका धेरै जिल्लाहरूमा फागुन १८ गतेदेखि मदिरा बिक्री बन्द गर्ने निर्णय भए पनि पर्सामा मात्र फरक मिति तोकिएकोप्रति आपत्ति जनाइएको छ। एउटै प्रकृतिको व्यवसायमा देशभित्र फरक–फरक मापदण्ड लागू गरिनु अन्यायपूर्ण, विभेदपूर्ण तथा अन्योलपूर्ण भएको संघको ठहर छ।
संघका अनुसार मदिरा व्यवसाय हजारौं परिवारको जीविकोपार्जनको मुख्य आधार हो। व्यवसायीहरूले नियमित रूपमा राज्यलाई कर तिर्दै आएको उल्लेख गर्दै संघले अचानक फरक मिति तोकी बिक्री बन्द गरिनु आर्थिक रूपमा ठूलो मार पर्ने निर्णय भएको जनाएको छ।
ध्यानाकर्षण पत्रमा हाल धेरै व्यवसायीहरूले बैंक ऋण लिएको, गोदाम तथा पसलमा ठूलो परिमाणमा मालसामान मौज्दात रहेको, घरभाडा, कर्मचारी तलब, ब्याज तथा अन्य नियमित खर्च व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। यस्तो परिस्थितिमा अन्य जिल्लाभन्दा अगाडि नै बिक्री बन्द गरिनु गम्भीर आर्थिक संकट निम्त्याउने संघको भनाइ छ।
संघले पर्सामा मात्र फरक मिति तोकिएको निर्णयको कानुनी आधार, कारण र प्रक्रिया सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै देशभर समान रूपमा लागू हुने एकरूप मिति र मापदण्ड कायम गर्न पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
निर्णयबाट उत्पन्न हुने आर्थिक क्षति तथा समस्या सम्बन्धित निकायले नै वहन गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भन्दै संघले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय