वीरगञ्ज, ३ बैशाख ।

जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा फैलिएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट प्राप्त आदेशअनुसार रामबाबु साह सोनार जाहेरवाल रहेको ज्यान मार्ने उद्योग मुद्दा २०८२ साल चैत १९ गते दर्ता भई हाल अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ। यस विषयलाई लिएर केही माध्यममा तथ्यहीन र आधारविहीन सूचना सम्प्रेषण भएको भन्दै प्रहरी प्रशासनले आपत्ति जनाएको हो।
प्रहरीका अनुसार अनुसन्धान जस्तो संवेदनशील विषयमा कपोलकल्पित तथा अपुष्ट समाचारले अनुसन्धान प्रक्रियामा असर पर्ने भएकाले यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरिएको छ। साथै, घटनाको यथार्थ विवरण प्रमाणका आधारमा अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले भन्नुभयो, “अनुसन्धान भइरहेको विषयमा तथ्यहीन र भ्रामक सूचना फैलाउनु उपयुक्त हुँदैन। यस्ता गतिविधिले अनुसन्धानमा बाधा पुर्‍याउन सक्छ। प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान भइरहेको छ, त्यसैले अपुष्ट समाचार सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं।”
प्रहरीले सर्वसाधारण तथा सञ्चारमाध्यमलाई जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय