वीरगञ्ज, जेठ १५ — मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज आफ्नो ९औँ वार्षिक उत्सव समारोह भव्य रूपमा मनाएको छ। २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नाम गरेका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै औपचारिक रूपमा स्थापना भएको आश्रमले ९ वर्ष पूरा गरेको हो।
आश्रमको स्थापना कार्यमा संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाईं, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, लालबहादुर गुरुङ, विजय ठाकुर तथा अंशु कार्की लगायतको विशेष भूमिका रहेको थियो।
मानवसेवा आश्रम वीरगञ्ज शाखा २०७४ देखि २०७९ सालसम्म वीरगञ्ज–९ स्थित इन्डियन एम्बेसी पछाडिको भाडाको घरमा सञ्चालन भएको थियो। २०८० सालदेखि भने प्रदेश सांसद रमेश पटेलको विशेष पहलमा वीरगञ्ज–२५ श्रीसियास्थित वृद्धाश्रमका लागि निर्माण गरिएको भवनमा व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। साथै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज–१५ लक्ष्मणवामा उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न आफ्नै भवन निर्माण कार्यसमेत सुरु भइसकेको छ।
विशुद्ध गैरनाफामूलक परोपकारी संस्था मानवसेवा आश्रमले २०६९ सालदेखि मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ। २०७३ साल साउन २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको संस्थाले सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ।
हाल मानवसेवा आश्रमले “घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण” गर्ने लक्ष्यसहित सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको छ।
वीरगञ्ज शाखाको तथ्यांकअनुसार स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरिएको छ। तीमध्ये १५९ जनाको सफल पारिवारिक पुनर्मिलन गरिएको, ३३ जनाको सामुदायिक पुनर्स्थापना गरिएको, ६५ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको तथा ४१ जनाले आश्रममै अन्तिम श्वास लिएका छन्। हाल श्रीसिया स्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन्।
आश्रमका संस्थापक देवेश गुप्ताले मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण पर्सा–बारावासीको माया, विश्वास र सहयोगबाट सञ्चालन भइरहेको बताउँदै भन्नुभयो, “मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण पर्सा–बारावासीको पसिनाको कमाइबाट चलेको आश्रम हो। यहाँ मजदुरदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी र गृहिणीसम्म सबै वर्गका मानिसले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आउनुभएको छ।”
उहाँले सहयोगी मनहरू, दाताहरू, शुभेच्छुक महानुभाव तथा सम्पूर्ण पर्सावासीको निरन्तर साथ, विश्वास, माया र सहयोगबिनाको यो ९ वर्षे यात्रा सम्भव नहुने उल्लेख गर्नुभयो।
मानवसेवा आश्रम वीरगञ्ज परिवारले विगत ९ वर्षदेखि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण वीरगञ्जवासीप्रति हार्दिक आभार व्यक्त गर्दै “मानवता नै सबैभन्दा ठूलो धर्म हो । जय मानवसेवा भन्ने सन्देश दिएको छ।








