बीरगंज २२ जेठ ।
वीरगन्ज भन्सार नाकाबाटै अवैध रुपमा भारत तर्फ लैजान लागेको अवस्थामा गएराति प्रहरीले शंकराचार्य गेट अगाडीबाट ट्रकमा रहेको १ सय २० क्वीन्टल मरिच बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा पर्सा प्रहरीले भन्सार गेट पार गरेर भारततर्फ गइरहेको युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा झण्डै १ करोड ४४ लाख मुल्य बराबरको मरिच बरामद भएको आज जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो । मरिच र ट्रकसँगै प्रहरीले भारतको उत्तर प्रदेश कानपुर जिल्लाका बासिन्दा ट्रकचालक धर्मेन्द्र कुमारलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको प्रहरी उपरिक्षक ढकालले बताउनु भयो । एकदिन अगाडि उत्तर प्रदेशबाट आलु लिएर आएको ट्रकमा फर्कने बेला छाला भनेर मरिच लोड गरिएको चालकले पत्रकार सम्मेलनमा बताएका छन् ।
नेपालबाट भारततर्फ जाने मालवाहक सवारी होस् वा कुनै खाली भारतीय गाडी भन्सार गेट पार हुनु अगाडिनै भन्सारका कर्मचारी र सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने गरेका छन् । तर मरिच बोकेको भारतीय नम्बर सो ट्रक कसरी भन्सार पार ग¥यो भन्ने विषयमा छानविन समिति बनाएर भन्सारले अनुसन्धान सुरु गरेको वीरगन्ज भन्सारका प्रवक्ता सन्तोष यादवले बताउनु भयो ।

व्यवसायिका अनुसार वीरगन्जमा ६ सय रुपैयाँ पर्ने एक किलो मरिचको रक्सौलमा एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँ पर्छ । पछिल्लो १० महिनायता प्रहरीले १८ टन मरिच भारततर्फ तस्करी हुने क्रममा बरामद गरेको छ ।
मरिच ढुवानी गर्ने एक थान १० चक्के ट्रक, दुइवटा ट्रयाक्टर, एउटा मोटरसाइकलसहित ८ जनालाई नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित निकायमा पठाईएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय