प्रणय साह
बीरगंज २२ असोज ।
बीरगंजको लाल बंगला परिसरमा थुपारिएको हुयुम पाइप पल्टिदा आज सांझ खेल्न गएका ४ बालबालिका च्यापिएर घाइते भएका छन् ।
घाइते मध्ये १ बालिकाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कालिका कन्स्ट्रक्सन प्रा.लि.ले अण्डर ग्राउण्ड नाला निर्माणका लागि बीरगंज महानगरपालिका वडानम्बर ११ श्रीपुर स्थित लाल बंगला परिसरमा हुयुम पाईप थुपारेर राखेको र हुयुम पाईपको थुप्रो माथि चढेर खेल्ने क्रममा अचानक हुयुम पाईप गुडकिएर खस्दा बालबालिका च्यापिएका थिए ।
८—१० बर्ष उमेरका बाल बालिका च्यापिएपछि तत्काल प्रहरी र स्थानिय बासिन्दाले डोजरको सहायतामा च्यापिएका बालबालिकाको उद्धार गरेका थिए ।
च्यापिएका बालबालिकाको नाम ठेगाना नखुलेको र घाइते मध्ये एक बालिकाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
घाइते भएका बालबालिकाहरुलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times