वीरगंज, २ फागुन/
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता
स्वर्ण पदक आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले झापाका
पत्रकार केशव आचार्यलाई एक तोल सुनको पदक प्रदान गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पुरस्कार वितरण गर्दै
मुख्यमन्त्री राउतले साहित्यकार र पत्रकार अहोरात्र खटेर समाज र जनतालाई
सुसूचित गर्दैआएको बताउनुभयो । चार दशकअघि गोपालचन्द्र गौतमले गरेको
पत्रकारिता अहिलेको बेलामा मूल्याङ्कन गर्न नसकिने उहाँको भनाइ थियो ।
उहाँले विचार हुनेले कलम निखार्न सक्दैन र कलम निखार्नेले विचार निखार्न
सक्दैन र यी दुई कुरा पत्रकार गौतममा भरिपूर्ण रहेकोले त्यतिखेर
क्रान्तिकारी पत्रकारिता गरेर समाज र देशलाई गति दिनुभएको बताउनुभयो ।
मुख्यमन्त्री गद्दीले प्रतिष्ठानले रु १० हजारबाट शुरु गरेको पुरस्कार
राशि एक तोला सुनमा परिणत गरेकोमा प्रशंसा गर्नुहुंदै सहयोग गर्ने
आश्वासन दिनुभयो ।
कार्यक्रममा मानव अधिकारकर्मी बद्री खतिवडा, नेपाल पत्रकार महासङ्घ
प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोपालचन्द्र गौतमका बारेमा
चर्चा–परिचर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा
उपाध्यक्ष्F चन्द्रकिशोरले स्व. गौतमको जीवनीको बारेमा प्रकाश पार्नुभयो
। कार्यक्रममा प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका
अध्यक्ष श्याम बन्जाराले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण
प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष
केसी लामिछानेले गर्नुभएको थियो ।
कार्यक्रममा स्व . गौतमकी पत्नी सुधा गौतम, छोरा हिमाल गौतम, वीरगंज
महानगरकी उपप्रमुख शान्ति कार्की, मानव अधिकारकर्मी नन्दन अर्याल,
समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका
उपसभापति मधु राणा, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सहमहासचिव
निजामुद्दीन समानी, समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमदलगायतको
सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय