बीरगन्ज, १४ असार ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८१ असार १३ गते दिउँसो १३:३० बजे पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसियानीस्थित सडकखण्डमा एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
प्रहरी टोलीले म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतीया ग्राम इनरूवा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसाद कुशवाहालाई रोकी कानूनी प्रक्रिया पुर्याई खानतलासी गर्दा, उनको मोटरसाइकलको दाहिने कार्बोरेटरभित्र लुकाएर राखिएको स्रोत नखुलेको ठूलो रकम फेला परेको छ।
बरामद रकम
– *नेपाली रु. १००० दरको नोट*: ५०० थान (रु. ५,००,०००)
– *नेपाली रु. ५०० दरको नोट*: १०० थान (रु. ५०,०००) कुल बरामद रकम: रु. ५,५०,००० (पाँच लाख पचास हजार)।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीका अनुसार, सिताराम प्रसाद कुशवाहालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको छ।