वीरगंज २ साउन ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेट गर्नु भएको छ ।
तीनै जना वीरगंज महानगरपालिका वडा नं. १६ का रहेका छन् । उनीहरुको परिवारसँग मेयर सिंहले बुधबार बिहान भेट गर्नु भएको हो ।
पहिरोमा परि त्रिशुली नदीमा खसेको बसमा सोही बसका चालक वीरगंज १६ नगवाका जवाहिर महतो, बारा जिल्ला स्थायी घर भई नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पणित र नगवाकै नयाँ वस्तीका हरेन्द्र पणित रहेका थिए ।
नदीमा खसेको बस र यात्रुको खोजी कार्य चलिरहेको भए पनि उनीहरुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन ।
२ छोरा, १ छोरी र श्रीमती रहेका जवाहिरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए । घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेका छन् । चालकका परिवारसँग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताउनुहुँदै जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको बताउनुभयो ।
यस्तै शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका अरबिन्द पणितका परिवारसँग भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सँधै रहेको बताउनुभयो ।
यस्तै नगवा नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गर्नुभयो । काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि सोही बसमा गइरहेका थिए ।
भरतपुर महागनरपालिका वडा नं. २९ सिमलतालस्थित सडकबाट गएको असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times