
वीरगञ्ज, बैशाख ३१ —
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले वीरगञ्ज कारागारमा रहेको कैदी तथा थुनुवाहरूको निरीक्षण गरेका छन ।
निरीक्षणको क्रममा कारागारमा रहेका कैदी तथा थुनुवाहरूको आवास, खानपान, स्वास्थ्य सेवा, सुरक्षा तथा दैनिक जीवनशैलीबारे स्थलगत अवलोकन गरिएको थियो। साथै, उनीहरूको समस्या, गुनासो र आवश्यकताहरू सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष रूपमा संकलन गरी सुधारका लागि पहल गरिने आश्वासन पनि दिइयो।
सिडिओ अर्यालज्यूले कानुनी अधिकारको संरक्षण गर्दै कारागारको मानव अधिकारमैत्री वातावरण कायम गर्न स्थानीय प्रशासन प्रतिवद्ध रहेको बताए। एसपी मिश्रज्यूले सुरक्षाको दृष्टिकोणले पनि कारागारको अवस्थालाई सुदृढ बनाउने उपायहरूमा सरोकारवालासँग समन्वय गरिने जानकारी दिए।
कार्यक्रममा कारागार प्रशासनका अधिकारीहरू, प्रहरी प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरू पनि सहभागी थिए। निरीक्षणको उद्देश्य कैदी–थुनुवाको जीवनस्तर सुधार, आधारभूत सुविधाको सुनिश्चितता र कारागार व्यवस्थापनको पारदर्शिता कायम गर्नु रहेको जनाइएको छ।