
बिरगंज १ जेठ ।
बिरगंज महानगरपालिका–१२ स्थित मुर्ली क्षेत्रमा खानेपानीको चरम अभाव हुँदा पनि स्थानीय जनप्रतिनिधि जिम्मेवार नदेखिएको भन्दै चर्को आलोचना भएको छ। सोही वडाका स्थायी बासिन्दा तथा माओवादी केन्द्रका युवा नेता अहसान अन्सारीले सामाजिक सञ्जालमार्फत वडा अध्यक्ष सुरेश गुप्तामाथि गम्भीर प्रश्न उठाएका छन्।
अन्सारीका अनुसार वडामा खानेपानी समस्याको समाधानका लागि तीनवटा डिप बोरिङ गरिएको थियो। तर, तीमध्ये एक बोरिङ निजी स्वार्थका लागि प्रयोग गरिएको छ भने, अर्को एउटा बोरिङ सिमित क्षेत्रका केही घरधुरीसम्म मात्रै सीमित गरिएको छ। बाँकी एक बोरिङ भने वर्षौंदेखि जडान नै नगरिएको अवस्थामा थन्क्याइएको छ।
“वडा अध्यक्षज्यू, यो विषयमा बौद्धिक रूपमा विचार गर्नुहोस्,” अन्सारीले सामाजिक सञ्जालमा लेखेका छन्, “जनताको करबाट खर्च गरि बनाइएका खानेपानी बोरिङ वर्षौंदेखि निष्क्रिय राख्नुको औचित्य के हो?”
स्थानीय युवाहरूले तीनवटै डिप बोरिङलाई टोलसम्म जडान गरी मुख्य पाइपलाइन विस्तार गर्नुपर्ने माग गरेका छन्। घर–घरमा व्यक्तिगत रुपमा जडान गर्न सकिने भए तापनि मुख्य प्रणाली सबै टोलमा पुर्याउने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ।
यसैबीच, गर्मीयाम सुरु भएसँगै पानीको चरम अभाव देखिन थालेको छ। गाउभरी पानीको समस्या बढ्दो छ तर वडा कार्यालयले यस विषयमा खासै चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ। दैनिक उपभोगका लागि पानी खोज्न घण्टौं लगाउनु परिरहेको जनाउँदै उनीहरूले छिटो समाधानको माग गरेका छन्।
“पानी जस्तो आधारभूत आवश्यकतामा समेत ध्यान नदिने जनप्रतिनिधिको उत्तरदायित्व के हो?” भन्दै सामाजिक संजालमा प्रश्न उठ्न थालेका छन्।
स्थानीय बासिन्दा र युवाहरूको यस्तो चासोपछि वडा कार्यालयले के कदम चाल्ने हो, त्यो हेर्न बाँकी छ। तर हाललाई मुर्लीका नागरिक पानीको लागि संघर्ष गर्न बाध्य छन्।