जनकपुर ५ बैशाख ।
धनुषा जिल्ला अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका–४ मा रहेको वि.पि. स्मृति बहुप्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालो मसो दल्ने घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टी बहुमतको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का मधेश प्रदेश अध्यक्ष बर्दिवास नगरपालिका–३, गौरीडाँडा निवासी २३ वर्षीय आयुष घिमिरे र सोही संगठनका सिरहा जिल्ला अध्यक्ष कल्याणपुर नगरपालिका–१, बनिनिया निवासी ३१ वर्षीय रामदेव कुमार महरा रहेका छन्।
शिक्षालयमा अध्ययनरत विद्यार्थीसमेत रहेका यी दुईले शिक्षालयका प्राचार्य पौडेललाई कालो मसो दल्ने कार्य गरेका थिए। घटनापछि फरार रहेका उनीहरूलाई प्रहरीले विशेष खटिएको टोलीमार्फत खोजी गरी नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी लक्ष्मीनियाँ र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा गरिएको अपरेसनमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुबै जनालाई कालो मसो दल्ने क्रममा शरिरका विभिन्न भागमा मसो दलिएको अवस्थामा फेला पारिएको जनाइएको छ। हाल उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यो घटनाले शैक्षिक संस्थामा बढ्दो राजनीतिक हस्तक्षेप र आक्रोशपूर्ण गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। यस विषयमा शिक्षालय प्रशासन र सुरक्षा निकायबीच समन्वय गरी शान्तिपूर्ण र सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न आवश्यक कदम चालिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय