
पर्सा, असार १२।
काठमाण्डौबाट वीरगञ्जतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट ठूलो मात्रामा लागुऔषध चरेश बरामद गरिएको छ। विशेष सूचनाका आधारमा पर्सा प्रहरीले परवानीपुर चोकस्थित सडकखण्डमा ट्रक रोकी तलासी गर्दा चरेश लुकाइ छिपाइ राखिएको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त टोलीले प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको ट्रकलाई रोकी तलासी गर्दा ट्रकको सामान बोक्ने भागमा सेतो प्लास्टिकको बोरा भित्र लुकाइएको अवस्थामा चरेश १३ पोकामा कुल ३१९ के.जी. फेला पारेको हो।
यसै क्रममा ट्रकका चालक मकवानपुर जिल्ला, थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइएको छ। स्याङ्तानको हाफ पाइन्टको दाहिने खल्तीबाट नेपाली नगद रु. १,९२,००० (एक लाख बयानब्बे हजार) पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीहरूमा चरेश ३१९ के.जी., नगद रु. १,९२,०००, ट्रक र चालकको साथबाट बरामद गरिएको मोबाइल फोन एक थान रहेका छन्। पक्राउ परेका चालक स्याङ्तानमाथि लागुऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।