
पर्सा १५ भदौ ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३५ वर्षीय मखु भन्ने शेख साहेबजान मियाँलाई चोरी तथा लागुऔषध सम्बन्धी कसूरमा पक्राउ गरेको छ ।
भाद्र ६ गते रौतहट मौलापुर नगरपालिका–१ घर भई हाल वीरगञ्ज महानगरपालिका–१५ शिरोमणी टोलमा बसोबास गर्दै आएकी सविता कुमारी देवीको कोठाको ताल्चा फुटाइ रु.१,२९,८०० भारतीय नगद, रु.१,२५,००० नेपाली नगद र सुनचाँदीका गरगहना चोरी भएको उजुरीको आधारमा अनुसन्धान थालिएको थियो ।
CCTV फुटेजको आधारमा अभियुक्त मियाँलाई मिति २०८२।०५।०८ गते नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा मियाँको घरमा खानतलासी गर्दा करिब ९.८० किलो लागुऔषध गाँजा, डिजिटल तराजु, चोरी गरिएका सुनचाँदीका गरगहना र श्रोत नखुलेको रु.१५,१५,००० नगद बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
बरामद सामग्रीहरूमा ९ केजी ८०९ ग्राम गाँजा, १ थान डिजिटल तराजु, विभिन्न थरीका सुनका गहना (झुम्का, नथिया, माङ टिका, सिक्री लकेट, टप), ८ पिस चाँदीका पायल, २ पिस माठा र नगद रकम समावेश छन् ।
पर्सा प्रहरीले अभियुक्तविरुद्ध चोरी तथा लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।