वीरगञ्ज, फागुन २जिल्ला प्रहरी कार्यालय पर्सा ले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत माघ महिनामा सम्पन्न गरेका गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार माघ महिनामा कुल १११ वटा अपराधका मुद्दा दर्ता भएका छन् भने १०३ जना प्रतिवादी पक्राउ परेका छन्।

दर्ता भएका मुद्दामध्ये ज्यान सम्बन्धी १२, आत्महत्या १०, चोरी ८, संगठित तथा आर्थिक अपराध २४ तथा सामाजिक अपराध ४५ रहेका छन्। जघन्य तथा गम्भीर अपराधतर्फ २६ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। चालु मुद्दाका ६२ जना फरार प्रतिवादीलाई पक्राउ गरी १६ वर्ष ६ महिना १ दिन कैद सजाय तथा २२ लाख २२ हजार ६०९ रुपैयाँ जरिवाना कार्यान्वयन गरिएको छ।

लागू औषध नियन्त्रणतर्फ ७ वटा मुद्दा दर्ता गर्दै १२ जनालाई पक्राउ गरिएको छ। यस क्रममा १०२ किलो ३०० ग्राम गाँजा, १ ग्राम २२०.५१ मिलिग्राम ब्राउन सुगर तथा १०० ट्याब्लेट अन्य औषधिजन्य पदार्थ बरामद गरिएको जनाइएको छ। सम्पत्ति शुद्धीकरण (हुण्डी) सम्बन्धी १ मुद्दा दर्ता भई करिब २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।

घरेलु हिंसातर्फ ५१ उजुरी दर्ता भई सबै मिलापत्रमार्फत समाधान गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ५१ उजुरी प्राप्त भएका छन् भने हराएका १५ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ माघ महिनामा ६५ सवारी दुर्घटना भएका छन्, जसमा १ जनाको मृत्यु र ११३ जना घाइते भएका छन्। ८६७ सवारी साधन कारवाहीबाट १० लाख ६४ हजार १ रुपैयाँ जरिवाना संकलन गरिएको छ। अवैध हातहतियार २ थान र १७ राउण्ड गोली बरामद गरिएको छ भने भन्सार छली तथा राजश्व चुहावट नियन्त्रणतर्फ करोडौँ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।

प्रहरीले अपराध न्यूनिकरणका लागि CCTV तथा डिजिटल निगरानी विस्तार, सामाजिक सञ्जाल अनुगमन, नियमित गस्ती, चेकिङ तथा सीमा क्षेत्रमा कडाइ गरिएको जनाएको छ। साथै २८५ वटा समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ हजार ६८१ जनालाई लाभान्वित गरिएको विवरणमा उल्लेख छ।

माघ महिनाभर हटलाइन तथा अन्य सम्पर्क नम्बरमा १२ हजारभन्दा बढी कल प्राप्त भएको र ४ हजार ५ सयभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय