वीरगंज ९ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सशक्त रुपमा आन्दोलन गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको वीरगंजमा सम्पन्न ३ दिने राष्ट्रिय परिषदको वैठक पछि वैठकले गरेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जेठ देखि माघ सम्म छुवाछुत विरुद्ध राष्ट्रिय अभियान, मेचीमहाकाली राष्ट्रिय स्वभिमान यात्रा, हिन्दु राष्ट्र जनचेतना कार्यक्रम, भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियान लगायतका जागरण कार्यक्रम पार्टीले संचालन गर्ने बताउनु भयो । उहाँले फागुन ७ गते देखि राजसंस्था सहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि निर्णायक आन्दोलन गर्ने दावी गर्नु भयो । अध्यक्ष कमल थापाले आधुनिक सुचना प्रविधि, संचारमाध्यम र सामाजिक संजालहरुलाई योजनावद्ध रुपमा प्रयोग गरी राप्रपालाई युवा केन्द्रित स्मार्ट पार्टीको रुपमा विकसित गरिने बताउनु भयो । उहाँले राप्रपालाई राष्ट्रको अग्रणी, राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्दै समान विचार धारा भएका व्यक्ति, पार्टी, समूहसँग एकता र सहकार्य गर्ने रणनीति वैठकले लिएको बताउनु भयो । त्यसैगरी उहाँले पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्न आब्हान गर्नुभएको छ । संचारकर्मीहरुले सोधेको एक फरक प्रशंगमा अध्यक्ष थापाले मोदीको जनकपुर, काठमाण्डौ लगायतका स्थानमा गरिएको नागरिक अभिनन्दनलाई राप्रपाले अस्वभाविक रुपमा लिएको भन्दै नाकाबन्दी लगाउने र नेपालको संविधान नस्वीकार्ने भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्नुको कुनै अर्थ नरहेको बताउनु भयो । राप्रपाको वीरगंजमा सम्पन्न केन्द्रिय परिषद वैठकले कमल थापाले प्रस्तुत गर्नु भएको पार्टीको कार्यदिशा सम्बन्धी कार्यपत्र, संगठनात्मक सुदृढिकरण कार्ययोजना, प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई परिमार्जन सहित पारित गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा केन्द्रिय उपाध्यक्ष राजिव पराजुली, राप्रपा नेपालबाट निर्वाचित एक मात्र सांसद राजेन्द्र लिग्देल, बुद्धिमान तामाङ्ग, भुवन पाठक लगायतको सहभागिता रहेको थियो । केन्द्रिय परिषद वैठकमा केन्द्रिय पदाधिकारी, जिल्ला, क्षेत्र, नगरका अध्यक्षहरु, भातृसंगठनका अध्यक्षहरु गरि ४ सय २५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय