जनकपुरधाम, जेठ १५ । प्रदेश नं. २को सरकारले आज गणतन्त्र दिवस भव्यताका साथ मनाएका छन । शहीदहरुको बलिदानी पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै प्रदेश सरकारले गणतन्त्र दिवस मनाएको हो ।
दिवसको अवसरमा प्रदेश सरकारले आज विहान जानकी मन्दिरबाट शुरु गरेको प्रभात फेरी रामानन्द चौक, पिराडी चौक हुँदै जनकपुर चुरोट कारखाना स्थित कवर्डहल पुगेर सभामा परिणत भएको थियो ।
गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक एवं मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, उच्च अदालत जनकपुरका न्यायधिश, प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरुको बलिदानीमा प्राप्त गणतन्त्रलाई अझै सुदृढ गर्दै लैजाने जिम्मेवारी सबैको रहेको बताउनु भयो ।
गणतन्त्रका प्रथम अभियन्ता रामराजा प्रसाद सिंहलाई स्मरण गर्दै मुख्यमन्त्री राउतले गणतन्त्र प्राप्तिका लागि बलिदानी दिने ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उहाँले २००७ सालको क्रान्ति देखी विभिन्न चरणको प्रजातान्त्रिक आन्दोलन, माओवादीको जनयुद्ध र मधेश विद्रोहको जगमा मुलुक लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति गरेको उल्लेख गर्नु भयो ।
यस अघि हिजो विहान गणतन्त्र दिवसकै अवसर पारेर जानकी मन्दिर देखी रामानन्द चौक सम्म सरसफाई समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय