वीरगंज, जेष्ठ २६ – वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीलाई निजि वन सरोकारवाला महासंघ नेपालले सम्मान गरेको छ ।
वीरगंजमा शनिबार संघले रानी सती अतिथि सदनमा आयोजना गरेको निजि वन सरोकारवाला महासंघमा आवद्ध निजि वन कृषकहरुको राष्ट्रिय भेला तथा संघीय/प्रादेशिक संरचनामा निजि वनको वर्तमान अवस्था एवं निजि वन विकासको मार्गचित्र विषयक राष्ट्रिय गोष्ठीमा मेयर सरावगीलाई सम्मान गरिएको हो ।
मेयर सरावगीले निजि वन प्रवर्धन र विकासका लागि निजि स्तरबाट पुर्याएको योगदान तथा वीरगंज महानगरको प्रमुखको रुपमा उहाँले महानगरलाई नमुना हरित शहर बनाउने अख्तियार गर्नु भएको नीतिलाई कदर गर्दै निजि वन सरोकारवाला महासंघद्वारा सम्मान गरिएको थियो ।
महासंघका अध्यक्ष विष्णु प्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं उच्च अदालत वीरगंजका न्यायाधीश कुमारप्रसाद पोख्रेलले मेयर सरावगीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
सम्मान पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले वीरगंज महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा निजि वन प्रवर्धनको लागि बजेट छुट्याउने जानकारी गराएका थिए । उनले वीरगंजलाई प्रदुषण मुक्त र हराभरा बनाउन आफुले नगरका विभिन्न क्षेत्रहरुको खालि, ऐलानी पर्ती जग्गाहरुमा पाँच वर्ष भित्र १० लाख वृक्षरोपण गर्ने योजना रहेको जनाएका थिए ।
मेयर सरावगीले वीरगंज महानगरपालिका कार्यालयले नेपालकै इतिहासमा पहिलो पटक खालि रहेको निजि जग्गामा कृषि गर्ने र कृषि नगर्ने सकिने जग्गामा वन लगाउने व्यक्तिलाई महानगरपालिकाबाट ९० प्रतिसत करमा छुट प्राप्त हुने बताउदै बाँझो जग्गा राख्ने व्यक्तिलाई २००% जरिवाना कर लगाउने समेत बताएका थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विष्णु प्रसाद ज्ञवालीले नेपालमा निजि वन र यसको महत्वको बारेमा प्रकास पारेका थिए । त्यसैगरि कार्यक्रममा उपस्थित सबैले आफ्नो खालि रहेको जग्गामा वन लगाई वातावरण संरक्षणमा सहयोग पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता रामरूप कुर्मी, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, रौतहट जिल्लाका जिल्ला वन अधिकृत दिर्घनारायण कोइराला,बारा जिल्लाका जिल्ला वन अधिकृत ज्ञानेन्द्र कुमार मिश्रलगयातको उपस्थिति रहेको थियो ।