राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन मार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिवद्धता अझै पूरा नभएको बताएका छन् । वीरगञ्जमा पत्रकारसँग कुरा गर्दै नेता महतोले मधेशी जनतालाई अधिकार सम्पन्न गराउने क्रममा सयौं मधेशी जनताले सहादत प्राप्तिका साथै सयौं घाइते भएपनि सरकारको रबैयाका कारण मधेशी जनतालाई फेरि आन्दोलान गर्न बाध्य हुने बताए र मधेशी जनताको अधिकार प्राप्तिका लागि राजपाले कुनैपनि बेला आन्दोलनको घोषणा गर्न सक्ने चेतावनी पनि दिएका छन्। नेता महतोले बर्तमान सरकारले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्रमा लागेको आरोप लगाए। सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्ने उनको भनाई रहेको छ। उनले कर वृद्धिको आडमा लोकतन्त्र विरोधीहरु सङ्घीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेको भन्दै स्थानीय तथा सङ्घीय सरकारलाई जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिल समेत गरे । मुलुकमा बढ्दै गएको हत्या र बलात्कारको घटनाले आम जनताले असुरक्षाको महसुश गरेको बताउँदै नेता महतोले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी अहिलेसम्म पक्राउ नपर्नु, प्रहरी हिरासतमै नागरिकको हत्या हुनुजस्ता घटनाले जनतालाई असुरक्षित बनाएको बताए।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times