प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगको कारण प्रदेश सरकार विकास निर्माणको कार्यलाई गति दिन नसकेको बताए । जनकपुरमा सोमवार जलस्रोत तथा सिचाई डिभिजन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि कर्मचारी पठाउने लगायतको विषयमा असहयोग गरि रहेको आरोप लगाए । यो कार्यालय ६ महिना पहिले उद्घाटन हुनुपर्ने भएता पनि संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण ढिलो भएको छ र यसले प्रदेश सरकारलाई काम गर्न समस्या भएको छ तर अब यस्ता अवरोधले प्रदेश सरकारको काम काज अवरुद्ध हुदैन ’ राउतले भने । एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएको उल्लेख गर्दै उनले त्यो मानसिकतामा परिवर्तन ल्याउन आग्रह समेत गरे । डिभिजन प्रमुख भगवान झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा सहितको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times