वीरगंज १३ माघ ।
पुर्ब–पश्चिम राजमार्ग अन्तर्गत बारा जिल्लाको पसाह पुल नजिकै गए राति जिप दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । तीव्र गतिमा रहेको भट्टराई चढेको ना १ झ १६३३ नम्बरको गाडीले सडक छेउको बायाँ साइडमा रोकी राखेको ट्याक्टरको टेलरमा ठोक्किदा सो दुर्घटना भएको थियो । दुर्घटना परी गम्भीर घाइते भएका प्रजिअ भट्टराईलाई वीरगन्ज स्थित हेल्थकेयर अस्पतालको आईसियू कक्षमा अचेत अवस्थामा उपचार गरिएको थियो । अस्पतालमा राति नै प्रजिअ भट्टराईको शल्यक्रिया गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारको लागी कैलाश एयरको हेलिकप्टरमा आज १२ बजे काठमाडौंस्थित ग्राण्डी अस्पतालमा पठाइएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो । दुर्घटना परी बारा कलैयाका शसस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेलको मृत्यु भएको छ । उनको शवलाई काठमाडौँ पठाई सकिएको बारा प्रहरीले जनाएको छ । यता दुर्घटनामा गम्भिर घाईते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईका गाडी चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङको वीरगञ्जकै हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times