बिरगंज १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने क्रममा शुक्रबार सांझ वीरगञ्जमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले लाठी चार्ज गर्दा दुईजना विद्यार्थी घाइते भएका छन ।
घाइते हुनेमा वीरगञ्ज १६ नगवाका रन्जन चौरसिया र वीरगन्ज १४ पिपराका विकेश पटेल छन । उनिहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको केन्द्रीय सदस्य सुधिर पटेलले बताए ।
सरकारविरुद्ध नारावाजी गर्दै विभिन्न स्थानबाट निस्किएको जुलुसलाई प्रहरीले आदर्शनगरस्थित राणीसती मन्दिर, लक्ष्मीबैंक र उपमहानगरपालिका कार्यालय अगाडि रोकेर लाठी चार्ज गरेको थियो । घाइतेहरुलाई भेट्न कांग्रेसका नेता डा. रामशरण महत, जिल्ला सभापति अजय द्विवेदी लगाएत अस्पतालमा पुगेका थिए ।