बीरगन्ज, २६ बैशाख ।
जिल्लास्थित निजी विद्यालयका दुई संगठनले प्याब्सन र एन–प्याब्सनले यस वर्ष गत वषकै पाठ्यपुस्तकलाई निरन्तरता दिने निर्णय गरेका छन् । प्याब्सन र एन–प्याब्सनको हिजो बसेको संयुक्त अनलाइन बैठकले यस्तो निर्णय गरेका हुन् । साथै, नर्सरीदेखि कक्षा ७ सम्मका सबै विद्यार्थीहरुलाई अपग्रेडिङ्ग गर्ने पनि निर्णय दुवै संगठनले गरेका छन् ।
संयुक्त बैठकको निर्णय अनुसार कोरोना संक्रमणको कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर गर्दै गत वषकै पाठ्यपुस्तकलाई निरन्तरता दिने निर्णय गरिएको प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहले बताउनुभयो । तर नर्सरीदेखि कक्षा १ सम्मको हकमा भने यो निर्णय लागु नहुने एन–प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरीले जानकारी दिनुभयो । चौधरीले भन्नुभयो “नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीलाई भने नयाँ पाठ्यपुस्तक नै चाहिन्छ किनभने पाठ्यपुस्तकमै गृहकार्य गरिने भएकाले विद्यार्थीले पुराना पाठ्यपुस्तकमा सबै अभ्यास गरिसकेका छन् ।” यस्तै, यस शैक्षिक सत्रमा कक्षा १ मा जाने विद्यार्थीहरुका लागि पनि अभिभावकले नयाँ पाठ्यपुस्तक खरिद गर्नुपर्ने एन–प्याब्सनका अध्यक्ष चौधरीले बताउनुभयो । “नेपाल सरकारले कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन गरेको छ, सोही अनुसार पाठ्यपुस्तक पनि परिवर्तन भएका छन्” चौधरीले आग्रह गर्नुभयो “तसर्थ कक्षा १ का विद्यार्थीका लागि भने अभिभावकले नयाँ पाठ्यपुस्तक किनिदिनु पर्छ ।”
यद्यपि, कक्षा दुईदेखि १० सम्मको कुनै पनि पाठ्यपुस्तक परिवर्तन नगर्ने निर्णय भएकोमा सोही अनुसार दुवै संगठनका सदस्य विद्यालयहरुलाई आग्रह गरिएको अध्यक्षद्धयले बताउनुभयो ।
साथै, सो संयुक्त बैठकले परिक्षा हुन बाँकी रहेको नर्सरीदेखि कक्षा सातसम्मका सबै विद्यार्थीहरुलाई अपग्रेडिङ्ग गर्ने पनि निर्णय गरेको छ । परिक्षा बाँकी रहेका विषयमा विद्यार्थीले यसअघि लिएका परिक्षामा प्राप्त गरेको अंकको आधारमा अंक दिने निर्णय भएको प्याब्सन अध्यक्ष डा. साहले बताउनुभयो । यसै निर्णय अनुसार आगामीे सबै विद्यालयहरुलाई विद्यार्थीहरु अपग्रेडिङ्ग गरिएकोबारे डिजिटल प्रविधि वा फोन मार्फत जानकारी दिन सबै विद्यालयहरुलाई निर्देशन दिएको एन–प्याब्सनका अध्यक्ष चौधरीले बताउनुभयो । तर अभिभावकहरुले आफ्ना विद्यार्थीहरुले नतिजा अर्थात मार्कसिट वा ग्रेडसिट भने विद्यालय खुलेपछि मात्र बुझ्न सक्ने अध्यक्ष डा. साहले प्रस्ट पारे ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times