बीरगंज १८ जेठ ।
बीरगन्जस्थित नारायणी अस्पताल कोरोना मुक्त भएसँगै आजबाट डायलासिस सेवा शुरु भएको छ । विगत एक साता अगाडी नारायणी अस्पतालमा रहेका सम्पूर्ण कोरोना संक्रमित डिस्चार्ज भएसँगै अस्पताललाई सेनेटाईज गरि पूर्ण रुपमा विसंक्रमित तथा निर्मलीकरण गरिएसँगै आजबाट बहरिंग सेवा अन्तरगत डायलासिस सेवा शुरु गरिएको हो । अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गत बैशाख २ गतेबाट अवरुद्ध भएको डायलासिस सेवा सुचारु गरिएको जनाएको छ । यस्तै, अस्पतालले ओपिडी अर्थात बहिरंग सेवा पनि क्रमिक रुपमा संचालन गर्ने जनाएको छ । सामाजिक दुरी कायम गरी पहिला हरेक विभागमा बढीमा २५ जना बिरामी मात्रको उपचार गर्ने बहिरंग सेवा सन्चालन गरिने नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो । विगतमा संक्रमितको उपचार हुदै आएको नारायणी अस्पताल कोभिडबाट साधारण अस्पतालमा परिणत भएको नेपालकै पहिलो अस्पताल हुन पुगेको दावी समेत मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो । अस्पतालमा साधारण सेवाहरु सन्चालनका लागि अझै पनि आवश्यक सरसफाई, निर्मलीकरण र अन्य आवश्यक कार्यहरु तीव्र रुपमा भइरहेको डा उपाध्यायले बताउनुभयो । अस्पतालले प्रदान गर्ने प्रसुति, सर्जन, लगायतका अन्तरंग सेवा सुचारु हुन अझै केही समय लाग्ने र आकस्मिक सेवा पछि उपचारका लागि अस्पतालमा भर्ना हुनका लागि अझै केही दिन लाग्ने हुँदा विरामीलाई भर्नाका लागि बाहिर पठाउनु पर्र्ने बाध्यता रहेको डा. उपाध्यायले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times