बीरगंज ।
पछिल्लो समय बीरगंजमा अनियन्त्रित रुपमा कोरोना संक्रमित हुनेहरुको संख्या मात्र होईन मृत्यु दर पनि बढेर गएको छ । ४ दिन यता ४ जनाको ज्यान गएको छ भने समुदायस्तरमा फैलिएको कोरोना संक्रमणको कारण झण्डै एक दर्जन स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अहिले संक्रमितहरुको उचित व्यवस्थापन हुन नसक्दा संक्रमण झन फैलिने खतरा बढेको छ । नारायणी अस्पतालको अस्थायी कोरोना अस्पतालको रुपमा रहेको गण्डक अस्पतालमा अहिले ५७ जना संक्रमितको उपचार भई रहेको छ । सो अस्पतालमा २ वटा भेन्टिलेटर, १० वटा आईसीयू रहेको छ । ५७ मध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको छ भने ४ जना आईसीयूमा रहेका छन् । अहिले वीरगंजमा संक्रमण पुष्टि भएकमध्ये झण्डै ४० जनालाई आइसोलेसनमा राख्न नसकिएको स्वास्थ्यकर्मीहरुले बताएका छन । स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । उनीहरुलाई बाहिर राख्नु जोखिमपूर्ण हुने अस्याथी कोरोना अस्पताल गण्डकका प्रमुख डा.निरज सिंहले बताउनु भयो ।
अस्पताल बाहिर रहेका ४० जनाले होम आइसोलेसन बस्दा पालना गर्नु पर्ने मापदण्ड उल्लंघन गरे कोरोना संक्रमण परिवारका अरु सदस्य र छिमेकीलाई समेत सर्न सक्छ । मापदण्ड पालना गरे नगरेको कसले अनुगमन गर्ने केही टुंगो छैन । संक्रमितको स्वास्थ्यमा समस्या आयो भने के गर्ने भन्ने पनि प्रष्ट व्यवस्था भएको गरिएको छैन । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय आइसोलेसन व्यवस्थापनमा सरोकारवाला निकायहरु गम्भीर नदेखिएको बताउनुभयो । संघ, प्रदेश र स्थानीय सरकार छन्, जिल्ला संकट व्यवस्थापन केन्द्र छ । आइसोलेसन व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो ? यो प्रश्न अहिले गम्भिर रुपमा उठेको छ । आईसोलेशनको व्यवस्थापन गर्ने जिम्मा राज्यको भएको र राज्यका तिन निकाय विच आवश्यक तालमेल नहुँदा अहिले समस्या देखिएको छ । कोरोना संक्रमणको सबै व्यवस्थापन गर्ने जिम्मेवारी नारायणी अस्पतालको नभएको र गर्न पनि नसक्ने बताउदै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले अहिले कसले के ग¥यो, गरेन भनेर आरोप प्रत्यारोप लगाउने बेला नभएको र सबै संक्रमण नियन्त्रणको सहकार्यमा जुटनु पर्ने बेला आएको बताउनुभयो ।
यता वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले आइसोलेसन व्यवस्थापनको जिम्मेवारी महानगरको मात्रै नभएको बताउदै महानगरकै खर्चमा गण्डक अस्पतालको आइसोलेसन सञ्चालनमा रहेको दावी गर्नु भयो । उहाँले केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको कारण समस्या भएको बताउनुभयो । नगर प्रमुख सरावगीले नेशनल मेडिकल कलेज वा नारायणी अस्पताललाई पुनः आइसोलेसन बनाउने प्रमुख जिल्ला अधिकारी नेतृत्वको संकट व्यवस्थापन केन्द्रले निर्णय लिनुपर्ने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत आइसोलेसनको समस्या समाधानका लागि आवश्यक रणनीति लिईने बताउदै यस सम्बन्धमा ठोस कदम चालिने दावी गर्नु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times