बीरगंज २१ साउन ।
बीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणको क्रममा पर्साका १ सय १६ र वाराको १७ सहित १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा २६ महिला, २ बालबालिका सहित १ सय ३३ जना रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो । संक्र्रमित मध्ये त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका ७६ जना रहेका छन । ७६ जना मध्ये ५६ जना वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी र महानगरका कर्मचारीको कन्टयाक्ट ट्रेसिङमा परेका छन् । जस मध्ये वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौला, वीरगंज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, वडा नम्बर १८ का अध्यक्ष ब्रम्हदेव राउत कुर्मी, वीरगंज महानगरको लेखा शाखाका सुमन श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृतका स्वकिय सचिव राजेश गिरी सहित १७ जना महानगरपालिकाका कर्मचारी रहेका छन् । यता वीरगंजका मेयर सरावगीको परिवारको सम्पर्कमा आएका ५ जना चिनीमिल पिपराका व्यक्तिहरु समेत संक्रमित भएका छन् । त्यसैगरी वीरगञ्ज कारागारको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो । त्यसैगरी अन्य संक्रमित हुनेहरुमा वीरगंज चिनीमिल क्षेत्रका ५ जना र वाराको सिमरा स्थित क्वारेन्टाईनमा बस्नेहरु मध्येका १७ जनालाई संक्रमण पुष्टि भएको उपाध्यायले बताउनु भयो । यता संक्रमित पुष्टि हुनेमा ३ जना सशत्र प्रहरीका जवान, नेपाल प्रहरीका ६ जवान, नेपाली सेनाका २ सैनिक जवान रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।वीरगंज कारागारमा कारागार प्रमुख श्रवण कुमार पोखरेल सहित १ कर्मचारी, २४ कैदी बन्दी मध्ये १६ पुरुष, ७ महिला र १ नावालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कारागार प्रमुख कार्यालयलाई नै आईसोलेशन बनाएर बसेका र कैदीबन्दीहरुलाई कारागारभित्र कै अस्पतालमा निर्माण गरिएको आईसोलेशनमा राखिएको र सुरक्षाकर्मीलाई कारागार परिसरकै समता स्कूलमा निर्माण गरिएको आईसोलेशनमा राखिएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिनुभयो । बीरगंज कारागार भित्र यस अघि ३ सुरक्षाकर्मी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times