वीरगंज १६ भदौ ।
हत्या आरोपमा नियन्त्रणमा लिएका आरोपीको सोधपुछ गर्ने क्रममा थुनामै मृत्यु भएको सन्दर्भमा रौतहटका तीन प्रहरीलाई निलम्बन गरिएको छ ।
निलम्बित हुनेमा प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गरी रौतहटको गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय महराको सोधपुछका क्रममा मृत्यु भएको घटनामा ती प्रहरीलाई निलम्बन भएको जनाएको हो ।
निलम्बित प्रहरी निरीक्षक सिंहलाई गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट जाँचबुझ समाप्त नहुञ्जेलसम्म ६ महिनाका लागि निलम्बन गरिएको हो ।
त्यसैगरी प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साभार— नया पत्रिका