बिरगंज १३ असोज । नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले लकडाउनको समयमा सेवाग्राहीहरुसँग विद्युत महसुल जरिवाना सहित लिएपछि त्यसको विरोधमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी वीरगन्ज महानगर अध्यक्ष इश्वर यादवको अगुवाइमा मंगलबार बिहान १० बजेदेखि १ घण्टा विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रको गेट अगाडि विरोध प्रदर्शन भएको हो ।

सहभागीहरुले लकडाउन अवधिभरको विद्युत महसुल बढि लिन नपाइने भन्दै विरोध प्रदर्शन गरीएको बताए । उनीहरुले लकडाउन समयमा जरिवाना सहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्न, लोडसेडिङको अन्त्य गर्न र उचित पार्किङको व्यवस्था गर्न माग गरेका छन् ।

लकडाउन र निषेधाज्ञाका कारण घर बाहिर निस्कन बन्देज लगाएको बेलामा विद्युत प्राधिकरणले जरिवाना थपेर विद्युतको महशुल तिर्न लगाएपछि उपभोक्ताहरु मर्कामा परेका छन् । लकडाउन र निषेधाज्ञाका बेला प्राधिकरणका कर्मचारी आफै मिटरको रिडिङ गर्न समेत नआएको प्राधिकरणले साउन र भदौ महिनाको महसुलमा जरिवाना थपेर बिल पठाएको भन्दै उपभोक्ताले आक्रोश पोखेका छन् ।

विरोध प्रदर्शनमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तवरेज अहमद लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

यता नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख शम्भु कुशियत यादव लकडाउनको समयमा केन्द्रले तोकेको समयमा विद्युत् महसुल अनलाइन र बैंकमार्फत् भुक्तानी गर्दा कार्यालयले लिने अतिरिक्त शुल्क पनि तिर्न नपरेको बताए ।

लकडाउनको समयमा नेपाल विद्युत प्राधिकरणले अनलाइन बिल भुक्तानी सेवा गरेपछि अधिकांश उपभोक्ताहरुले घरमै बसिबसी मोबाइल एप्लिकेशनको माध्यमबाट विद्युत् महसुल बुझाएको उनको दावी छ । तर,लकडाउनको समयमा वा लकडाउन खुकुलो भएको समयमा विभिन्न माध्यमबाट सुचना प्रवाह गरेकाले सुचना पाएर नआएका वा जानकारी नपाएका सेवाग्राहीहरुले रकम नबुझाएकाले जरिवाना रकम बुझाउनु परेको प्रमुख यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय