वीरगञ्ज २ फागुन । युवा उद्यमीहरूको पहलमा वीरगञ्जमा शेयर बजारसम्बन्धी आधारभूत तालीम सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र प्रभु क्यापिटल लिमिटेडको संयुक्त आयोजनामा शनिबार शेयरसम्बन्धी तालीम भएको हो ।
लगानीको अवसरको खोजीमा रहेका युवाहरूलाई शेयर बजारको सम्भाव्यताबारेमा जानकारी दिने उद्देश्यले तालीम आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो । वीरगञ्जका बिजनेश स्कुल र शेयर बजारमा रुची राख्ने लगानीकर्ता गरी २५० जना सहभागीलाई प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले शेयर बजारका बारेमा आधारभूत पक्षका बारेमा जानकारी दिनुभएको थियो ।
तालीमको उद्घाटन समारोहका प्रुमख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारिणी समिति सदस्य अशोककुमार टेमानीले शेयर बजारका लगानीकर्ताले लगानीकोे प्रकृति र चुनौतीहरूलाई सुक्ष्म ढंगले विश्लेषण गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था र पृष्ठभूमिका बारेमा पर्याप्त जानकारी राख्न लगानीकर्तालाई आग्रह पनि गर्नुभयो ।
एनवाईईएफका संस्थापक अध्यक्ष अरविन्द अमात्यले अर्थतन्त्रका बारेमा समुदायमा वृहत जानकारी प्रवाहको आवश्यकता औंल्याउनुभयो । वीरगञ्जमा एक दशकको अन्तरालपछि एनवाईईएफको पुनर्जागरण भएकोमा अमात्यले खुशीसमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज, वीरगञ्ज कलेज, नेशनल एकेडेमी कलेज, नेशनल इन्फोटेक, हरिखेतान बहुमुखी क्याम्पसलगायतको साझेदारी थियो । एनवाईईएफका द्वितीय उपाध्यक्ष सन्दिप अग्रवाल, सदस्यहरू विकास ठाकुर, विश्वासप्रताप शाह, आशीष लाठ, मनिषा सुनुवार श्रेष्ठ, काजल सिंह, पंकज अग्रवाल, संकल्प शाक्य, नमिता शाक्यलगायतको कार्यक्रममा सहभागिता थियो ।      

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय