वीरगंज २३ फागुन । वीरगञ्जका उद्योगी व्यवसायीहरूले भारत र नेपालबीच हुने व्यापार र पारवहनमा देखिएको समस्या समाधान गरिदिन भारतीय महावाणिज्य दूतावाससँग आग्रह गरेका छन् । भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले आयोजना गरेको ‘भारत–नेपाल सीमा व्यापार’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले त्यस्तो आग्रह गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले नेपाल–भारतबीच हुने व्यापार, पारवहनका साथै नेपाली आयात निर्यातकर्ताहरूले भोग्दै आएको व्यवहारिक तथा नीतिगत कठिनाइलाई समेटेर कार्यपत्र प्रस्तुत गरे । उनले रक्सौल–वीरगञ्ज नाकालाई ह्यापी बोर्डरको रुपमा विकास गर्नुपर्ने बताए ।
उनले वस्तु निर्यात गर्दा अनिवार्य गरिएको प्रयोगशाला परीक्षणको झञ्झटिलो प्रक्रियाबाट मुक्ति दिन आग्रह गरे । नेपालबाट कृषिजन्य वस्तु, तेल, डाबर, नेपाल लिभरको उत्पादन भारततर्फ निर्यात हुने गरेको छ । त्यस क्रममा निर्यातकर्ताले प्रयोगशाला परीक्षण गराएको रिपोर्ट पेश गर्नुपर्ने हुन्छ ।

‘रक्सौलको प्रयोगशाला बन्द छ । कुनै मालवस्तु निर्यात गर्नुपर्दा कलकत्ता पठाउनुपर्ने हुन्छ । नेपालमा पनि भारतमा भएको जस्तै पहिलो श्रेणीको प्रयोगशाला छन् । उसले गरेको परीक्षण रिपोर्टलाई भारतले मान्दैन’ उनले भने, ‘अनावश्यक झञ्झट भइरहेको छ । बिग्रने खालको समान त प्रयोगशालाको रिपोर्ट ल्याउने क्रममा नै बिग्रन्छ । कि रक्सौलको प्रयोगशालालाई कलकत्ताको जस्तै बनाउनुपर्छ, होइन भने दुवै देशले एक अर्को देशमा गरिएको परीक्षणको रिपोर्टलाई मान्यता दिनुपर्छ ।’कार्यक्रममा वीरगञ्जका उद्योगी व्यवसायीहरूले सीमावर्ती सहर रक्सौलको विकासका लागि पनि आवाज उठाएका छन् । उनीहरूले रक्सौलबाट भारतका मुख्य मुख्य शहरहरूलाई जोड्ने सुपरफास्ट ट्रेन सञ्चालन हुनुपर्ने, आईसीपीमा पार्किङ एरिया प्रयोग गर्ने सवारीसाधनसँग मात्र पार्किङ शुल्क लिनुपर्ने धारणा राखेका छन् ।

त्यस्तै वजन गर्ने मेसिनको चार्ज, परीक्षण शुल्क र जिएसटी हटाउनुपर्ने, आईसीपीलाई बिहानै ५ बजेदेखि नै खोल्नुपर्ने, भारत र नेपालको पर्यटन प्रर्वद्धनको लागि टुरिष्ट हेल्प डेस्क र व्यापारिक मतभेद निवारण डेस्कको स्थापना हुनुपर्ने व्यवसायीहरूको माग छ ।

भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितिश कुमारले उद्योगी व्यवसायीको तर्फबाट आएको सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।साभार—अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय