बीरगंज २५ मंसिर ।
नगरको विकासमा नगरवासीको प्रत्यक्ष सहभागिता गराउने उद्देश्यका साथ वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरका विभिन्न टोल तथा वस्तीहरुमा पुगेर नगरवासीको समस्या तथा सुझाव संकलन गर्ने अभियान शुरु गर्नु भएको छ । नगर प्रमुख सिंहले नगरवासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाउदै सुझाव संकलनलाई तिव्रता दिनु भएको हो । नगर प्रमुख सिंहले शनिबार विहान वडा नम्वर १ बजार छपकैयाँको नयाँ टोलामा स्थानीयलाई भेट्दै त्यहाँको विकासका लागि गर्नु पर्ने कामका बारेमा सुझाव लिनु भएको थियो भने आज बीरगंज महानगरपालिका वडा नम्बर १६ बसपार्क क्षेत्रमा बसोवास गर्ने स्थानियको सुझाव संकलन गर्नु भएको थियो । नगर प्रमुख सहित पुगेको टोलीलाई ग्रामिण वस्तीमा स्थानियले स्वागत गर्दै टोल टोलमा विग्रिएको बाटो मर्मत, नालाको स्तर उन्नती, विद्युतीय तारको व्यवस्थापन लगायतको समस्या तत्काल समाधान गर्न आग्रह गरेका थिए । स्थानीयको समस्या सुनेपछि नगर प्रमुख सिंहले आफूहरु समस्या समाधानका लागि नै टोलटोलमा आएको बताउदै समस्या समाधानका लागि तत्काल काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयकाटोला हुदै जनताको समस्या बुझ्न ग्रामिण बस्तीमा पुग्नु भएका नगर प्रमुख सिंहले वडा नम्वर २४ रामगढवामा पुगेर त्यहाँ निर्माण भइरहेको सडक ढलानको अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिनु भएको थियो । रामगढवाका स्थानीयले नगर प्रमुख समक्ष तिलाबे नदीका कारण वर्षायाममा आफ्नो टोल डुबानमा पर्ने भएकाले त्यसका लागि सहज निकासको उपलब्ध गराउन नाला र सडक निर्माण गरिदिन आग्रह गरेका थिए । त्यहाँबाट वडा नम्वर २१ परवानीपुर पुगेका सिंहले धम्म तराई विपश्यना केन्द्र अगाडी रहेको पार्कको निरीक्षण गर्दै त्यसलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो । त्यसैगरी नगर प्रमुख सिंहले वडा नम्बर २७ रामपुर जसौलीमा सडकमा साघुरो कल्र्भटका कारण स्थानिय भोग्दै आएको समस्या समाधानका लागि पुल निर्माण गर्न नगरपालिकाका इन्जिनियर भरत थापालाई निर्देशन दिनुभयो । त्यसैगरी नगर प्रमुख सिंहले रामपुर जसौलीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक स्तरोन्नतिका साथै शैक्षिक अवस्था सुधारका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बीरगंज महानगरपालिकाको विभिन्न वडामा चालु रहेका योजनाको अनुगमन, गर्नु पर्ने कामहरुको प्राथमिकिकरण र योजना कार्यान्वयनका लागि नगर प्रमुख सिंह महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, प्राविधिक सल्लाहकार प्रकाशमान सिंह अमात्य, योजना शाखाका प्रमुख राजेश चौरसिया, इन्जिनियर भरत बहादुर थापा सहितको टोली लिएर टोल टोलमा पुग्ने र जनताका समस्या बुझ्ने कामको सुरुवात गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय