वीरगन्ज,२५ मंसिर ।
बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बीरगंजका युवा पत्रकार स्वर्गिय नरेश सर्राफले समाजलाई पुर्याएको योगदानको कदर गर्दै अक्षय कोष स्थापना, नावालिका छोरीको पठन पाठनको सम्पूर्ण जिम्मा र परिवारलाई तत्काल ५ लाख रुपैया नगद उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
स्वर्गीय पत्रकार नरेश सर्राफको १० औँ दिनको पुण्य तिथिको अवसरमा आज रेडियो वीरगंज ९९ मेगाहर्ज समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा रेडियो परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले स्वर्गीय सर्राफका परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
त्यसैगरी नगर प्रमुख सिंहले बीरगंजको पत्रकारीता क्षेत्रमा सर्राफले पुर्याएको योगदानको कदर गर्दै स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाको तर्फबाट १० लाख रुपैया उपलब्ध गराउने घोषणा समेत गर्नु भएको छ ।
नगर प्रमुख सिंहले स्वर्गिय पत्रकार सर्राफकी ७ बर्षिया नावालिका छोरीको १० कक्षा सम्मको पठनपाठनको जिम्मा पनि महानगरपालिको लिने बताउदै बालिकाको इच्छा बमोजिमको बीरगंज नगरको कुनै पनि विद्यालयमा महानगरपालिकाले पठन पाठनको व्यवस्था मिलाउने बताउनु भयो । उहाँले पत्रकार सर्राफको निधनले पर्सेली पत्रकारितामा कृयाशिल युवा पत्रकारको कमी महशुस गराएको भन्दै वीरगन्जका पत्रकारहरुको दुख पिडामा महानगर सदैव साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
श्रद्धान्जली सभामै स्वर्गीय सर्राफको ७ बर्षिया नावालिका छोरीलाई रेडियो वीरगन्जले १ लाख रुपैया, समाजवादी प्रेस संगठन पर्साले १ लाख रुपैया उपलब्ध गराउनु भएको छ भने राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले बालिकाको पठन पाठनका लागि कोष खडा गर्न ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने बताउनु भएको छ । त्यसैगरी मोवाईल विक्रेता संघ वारा, पर्साको तर्फबाट ५० हजार सहयोग गर्ने घोषणा भएको थियो । कार्यक्रममा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले रेडियो वीरगंजका पूर्व संचारकर्मी समेत रहेका नरेश सर्राफको निधनले व्यक्तिगत रुपमा आफूलाई ठूलो क्षति भएको कुरा उल्लेख गर्दै भावविहल हुनु भएको थियो । रेडियोको तर्फबाट प्रदान गरिएको १ लाख रुपैयाको कुनै महत्व नभएपनि यसले देखाएको मार्ग दर्शनले धेरैलाई प्रेरणा मिल्ने दावी गर्नुभयो । पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको गत मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।
रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा संविधानसभा सदस्य रामचन्द्र साह तेली, निवर्तमामन प्रदेशसभा सदस्य राजेश्वर साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टरका अध्यक्ष निरज पिठाकोटे, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य वृजलाल पासवानका साथै राजनीतिक दलका प्रतिनिधि, पत्रकार सम्बद्ध संघ संस्थाका पदाधिकारी, उद्योगी, व्यवसायी, सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय