वीरगञ्ज २७ मंसिर ।
सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन सुरु भएको छ । नदी आसपास रहेका वीरगञ्जका उद्योगहरुका कारण सिर्सिया फोहोर भएकाले प्रदुषण नियन्त्रणका लागि अनुगमन सुरु गरिएको वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बताउनुभयो । सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा आज वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ५ वटा उद्योगको अनुगमन गरिएको छ । अनुगमनका क्रममा ती उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको भेटिएको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । टोलीले श्री निधी टेक्सटायल्स प्रा.लि., ब्रिटानीय नेपाल प्रा.लि., शक्ति दाल मिल र शत्ति वायरको अनुगमन गरेको थियो । अनुगमनका क्रममा निधी टेक्सटायल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको पाइएको छ । यस्तै विस्कुट उत्पादन गर्ने ब्रिटानीयाले ट्रिटमेण्ट प्लाण्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको भेटिएको छ । शक्ति वायर उद्योगले पनि उद्योगबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाएको भए पनि प्रभावकारी नहुँदा फोहोर पानी नदीमा नै मिसिन पुगेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । नदीलाई दुर्गन्धित बनाउने गरी लेदोसहितको फोहोर पानी फाल्ने उद्योगलाई आज पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिए सोझै कारवाही गरिने अनुगमनमा गएका बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बताउनुभयो । सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नु पर्नेमा जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै नहेर्न आलमले उद्योगीहरुलाई आग्रह गर्नुभयो । महानगरपालिकाका उपप्रमुख आलमको नेतृत्वमा गएको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखाका देवेन् चौधरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times