वीरगञ्ज, १४ पुस ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्वर ११ श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय परिसरमा बिहीबार वृक्षारोपण गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको हो ।
कार्यक्रमको सुरुवात गर्दै मेयर सिंहले वीरगञ्जलाई हरियाली बनाउन वृक्षारोपणका साथै रोपिएका विरुवा जोगाउनु पर्नेमा जोड दिए ।
विद्यापिठ मा.वि.को निर्माणाधिन भवनलाई पूर्णता दिन महानगरले आवश्यक सहयोग गर्ने भन्दै उहाँले महानगरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि काम गरिरहेको बताउनुभयो ।
आउँदा दिनमा निजी विद्यालयको चक्कर लगाउनु पर्ने बाध्यता हटाउन सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्दै शिक्षक शिक्षिकाहरुको दक्षता बृद्धिका लागि महानगर तयार रहेको पनि बताउनुभयो ।
दिल्ली मोडलमा सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न आफू तयार रहेको भन्दै त्यसका लागि विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यार्थी सबैको साथ रहनु पर्नेमा जोड दिनुभयो ।
विद्यालय प्राङ्गणमा करिब एक सय भन्दा बढी विभिन्न प्रकारका विरुवा रोपिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश लाठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, वडा नम्वर ११ का वडाध्यक्ष अजय चौरसिया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय