वीरगञ्ज २३ माघ ।


वीरगञ्जको माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटीमा हुँदै आएको तरकारी तथा फलफुल बजारलाई गिता मन्दिर नजिक रहेको खाली जग्गामा व्यवस्थापन गरिएको छ ।
मिना बजार क्षेत्रको सडक पेटीमै लाग्ने गरेको तरकारी तथा फलफुल बजारले आउजाउमा असहज भए पछि वीरगञ्ज महानगरपालिकाले गिता मन्दिर नजिकको खाली जग्गामा व्यवस्थापन गरेको हो ।
महानगरले गएको बुधबार सूचना जारी गर्दै माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटी, २ र ३ नम्वर रोड आसपासको सडकपेटीमा अव्यवस्थित तरकारी बजार लगाइरहेकालाई गिता मन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण हुन आग्रह गरेको थियो ।
त्यस क्षेत्रको सडक पेटीमा व्यवसाय गर्दै आएका फलफुल तथा तरकारी व्यवसायीहरु सोमबारबाट गिता मन्दीर नजिकको खाली जग्गामा पसल संचालनका लागि स्थानान्तरण भएका छन् ।
महानगरपालिकाको नगर प्रहरी र सरसफाई शाखाका प्रतिनिधिको रोहबरमा व्यवसायीलाई पसल संचालनका लागि खाली जग्गामा व्यवस्थापन गरिएको हो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बजार व्यवस्थित बनाउन सडक पेटीमा अव्यवस्थित रहेका तरकारी तथा फलफुल बजारलाई खाली ठाउँमा व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
सोही बमोजिम सोमबारदेखि सडक पेटीमा यात्रु आउजाउ गर्नै नमिल्ने गरी थापिएका तरकारी तथा फलफुल पसललाई खाली जग्गामा स्थानान्तरण गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए ।
महानगरपालिकाले माइस्थान तथा मिना बजार क्षेत्रको सडक तथा सडक पेटीमै हुने गरेको तरकारी तथा फलफुल बजार स्थानान्तरण गरेसँगै यात्रुलाई आउजाउमा सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय