वीरगञ्ज २८ माघ ।
वीरगञ्ज महानगरपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

निजामति कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभाबमा तयारी गर्न नसकेकाहरुलाई लक्षित गर्दै निशुल्क तयारी कक्षा सुरु गरिएको हो ।

तयारी कक्षाको शनिबार महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नु भएको छ ।

युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सुरु गरिएको  महानगरप्रमुख सिंहले बताउनुभयो ।

निजामति प्रशासन, शिक्षक तथा सुरक्षा क्षेत्रमा यहाँका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै महानगरले युवाका लागि तयारी कक्षा संचालन गरेको पनि उहाँले बताउनु भयो ।

तयारी कक्षामा ३८ जना महिला र ५७ जना पुरुषको सहभागिता रहेको छ ।

महानगरले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको सहभागिहरुले बताएका छन् ।

महानगरले निशुल्क कक्षा सुरु गरेसँगै महंगो शुल्क तिरेर तयारी कक्षा लिन पर्ने बाध्यता हटेको उनीहरुको भनाई थियो ।

राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै महानगर प्रमुख सिंहले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउन भनेर तयारी कक्षा अघि बढाइएको उहांको भनाई थियो ।

तयारी कक्षामा वीरगञ्जका मात्रै नभई पर्सा बारा लगायत विभिन्न स्थानका युवाहरुको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनले तयारी कक्षा अगाडी बढाएको हो ।

सहभागीहरुलाई धनञ्जय कुमार सिंह, सुरज राम, श्यामबिनय चौधरी, सुरज कुमार यादव र हेमन्त यादवले प्रशिक्षण दिनुहुने छ ।

शनिबार आयोजित तयारी कक्षा उद्घाटन सत्रमा वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, कार्यपालिका सदस्य कनिका कौसिक, महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, सामाजिक विकास शाखा प्रमुख राजिब गिरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनका संचालक बंसी गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय