बिरगंज ४ फागुन ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको बताउनुभएको छ।

महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हराभरा बनाउनेतर्फ महानगर लागिपरेको प्रमुख सिंहको भनाई छ ।

रुख रोप्नु मात्रै नभएर त्यसको संरक्षणका लागि पनि महानगरले योजना बनाएको उहाँले बताउनु भयो ।

वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यम सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो ।

अभिमुखीकरणमा प्रशिक्षण दिँदै वातावरण संरक्षण र गरिबी निवारणका लागि वनको विस्तार गर्नुपर्ने डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फर्मान मियाँले बताउनुभयो । मियाँले वनमार्फत समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नु भयो ।

समृद्धिका लागि वन परियोजना अन्तर्गत वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्ष एवम् सचिवहरुको लागि आयोजित अभिमुखीकरणका अवसरमा मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पार्नुभएको थियो । तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको उहाँले बताउनु भयो ।

हरित गृह ग्यासको उत्सर्जन र यसले पार्ने प्रभावसँगै वनमार्फत यसलाई न्युनिकरण गर्न सकिने बारेमा पनि उहाँले जानकारी गराउनु भयो ।

औद्योगिकरण, सवारी साधन, फोहोर, वन विनाश आदिका कारण हरित गृह ग्यासको उत्पादन बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नु भयो । साथै पृथ्वीको सुरक्षाका लागि रुख रोप्नुको विकल्प नरहेको पनि उहाँले बताउनु भयो । मियाँका अनुसार नेपालसँग १२ लाख मेट्रिक टन कार्वन उत्सर्जन गर्ने क्षमता छ ।

अभिमुखीकरणमा वन प्राविधिक दशरथ रौनियारले पनि वनमा आधारित उद्यमका बारेमा जानकारी गराउनु भएको थियो । वनमा आधारित उद्यम सञ्चालनका लागि बैंक एवम् वित्तिय संस्थाबाट ऋण लिँदा ९ प्रतिशत भन्दा बढी ब्याज लिन नमिल्ने पनि उहाँले जानकारी गराउनु भयो ।

अभिमुखीकरणमा सहभागी वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्राले वडालाई अधिकार नदिँदासम्म सिकेका कुरालाई व्यवहारिक बनाउन नसकिने बताउनु भयो ।

अभिमुखीकरण एवम् तालिममा सिकेका कुरालाई लागु गर्नका लागि वन संरक्षण एवम् वृक्षरोपण लगायतका कार्यका लागि वडाहरुलाई पनि आवश्यक बजेट उपलब्ध गराउनुपर्ने वडाअध्यक्ष मिश्राको माग थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय